Latest Updates :

भारत तथा अमेरिका पछि अब नेपाल-चीन सैन्य तालिम हुने

SHARE THIS POST :

काठमाण्डाै । दुई देशबीच सैन्य क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यले नेपाल र चीनबीच सन् २०१७ मा संयुक्त सैन्य तालिम नेपालमा आयोजना हुने भएको छ। उत्तरी छिमेकीले नेपालसँग निकट भविष्यमा हुन लागेको सैन्य तालिमबारे बिहीबार घोषणा गरेको हो । चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच पहिलोपटक संयुक्त सैन्य तालिम हुन लागेको हो ।

सैन्य तालिमका सम्बन्धमा दुई देशका उच्च राजनीतिक तहबाट सहमति प्राप्त भइसकेको स्रोतले बतायो। चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले बेइजिङमा आयोजित पत्रकारसम्मेलनमा सन् २०१७ मा नेपाल र चीनबीच संयुक्त सैन्य तालिमबारे प्रारम्भिक वार्ता भएको बताए । तर उनले सैन्य तालिम कहिले हुने भन्ने यकिन मिति खुलाएनन् ।

‘सैन्य तालिमको यकिन मिति उपयुक्त समयमा घोषणा गरिनेछ’, प्रवक्ता युजुनले भने । चीन र नेपालबीच सैन्य क्षेत्रमा हालैका वर्षमा विभिन्न स्वरूपमा सम्पर्क भइरहेको बताए । नेपाली सेनाका अधिकारीहरूले दैवीप्रकोप उद्धार र राहत कार्यका लागि तालिम र सहयोग आदानप्रदान गर्नेलगायत विषयमा छलफल भए पनि सैन्य तालिमको यकिन मितिबारे टुंगो नलागिसकेको बताए।  एक साताअघि नेपाल आएको चिनियाँ एक सैन्य टोलीले संयुक्त सैन्य तालिमबारे प्रारम्भिक स्तरमा नेपाली सेनासँग छलफल गरेको थियो ।

नेपालस्थित चिनियाँ दूतावास स्रोतले नेपालसँग सैन्य अभ्यास नभई तालिममात्र हुन लागेको बतायो । ‘भारत र अमेरिकासँग नेपालले गर्दै आएको सैन्य अभ्यास र हामीसँग हुन लागेको फरक प्रकृतिको हो । अब चीनसँग हुन लागेको संयुक्त तालिम मात्रै हो’, चिनियाँ दूतावासका एक अधिकारीले अन्नपूर्णसँग भने ।

चीनले नेपालसँग रणनीतिक र सैन्य मामिलामा मिलेर काम गर्न सकिने बताउँदै आएको छ । गत जुनमा नेपाल भ्रमणमा आएका चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख एड्मिरल सन जियागुओले तत्कालीन रक्षामन्त्री भीम रावलसँगको भेटमा नेपालसँग सैन्य क्षेत्रमा सहकार्य र सहयोग बढाउन इच्छुक रहेको बताएका थिए ।

नेपालले केही वर्षयता दक्षिणी छिमेकी भारत तथा अमेरिकासँग संयुक्त सैन्य अभ्यास गर्दै आएको थियो । गत अक्टोबर ३१ देखि नोभेम्बर १३ सम्म रूपन्देहीमा नेपाल र भारतका सैनिकबीच सूर्यकिरण १० नामक सैन्य अभ्यास सम्पन्न भएको थियो । नेपाल-भारत सैन्य अभ्यास समापनमा भाग लिन भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंह नेपाल आएका थिए ।

त्यसअघि नेपाल र अमेरिकाबीच सन् २०१५ नोभेम्बर ३ देखि १७ दिनसम्म काठमाडौंको छाउनी, पोखरा, लुक्ला र सगरमाथाको आधारशिविरमा संयुक्त सैन्य अभ्यास सम्पन्न भएका थिए । अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger