Latest Updates :

साउदी अरब बाट साढे चार वर्षपछि छोराको शव काठमाडौं आइपुग्यो, दोस्रो पटक किरिया गर्दै परिवार , घट्यो यस्तो दुखद घट्ना

SHARE THIS POST :
काठमाडौं २३ कार्तिक – बाँकेको ए गाउँ सीतापुरबाट झन्डै १६ घण्टा लामो बसयात्रापछि सोमबार वीरबहादुर खत्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । सिट नपाएपछि उभिएरै गरेको यात्राका कारण उनी थाकेका त थिए नै त्योभन्दा ठूलो चिन्ता उनको मनमा थियो । साढे चार वर्षअघि साउदी अरबमा सडक दुर्घटनामा परी मृत्यु भएका छोरा हर्षमान खत्रीको शव बल्ल काठमाडौं आइपुगेको थियो । वीरबहादुर छोराको शव लिन आएका थिए ।
शव अहिले आइपुगे पनि वीरबहादुरले दुई वर्षअघि नै विधिपूर्वक छोरा हर्षमानको किरिया गरिसकेका थिए । मृत्यु भएको दुई वर्षसम्म पनि शवको पत्तो नलागेपछि उनले घरछेवैको चिरनखोलामा कुशको शव बनाएर
दाहसंस्कार सम्पन्न गरेका थिए । किरिया सकेको दुई वर्षपछि गत वैशाखमा जिल्ला प्रहरी कार्यालयले उनलाई खबर गर्‍
यो, ‘तपाईंको छोराको शव साउदीको किङ फहाद होफुफ अस्पतालमा भेटिएको छ ।’

काजकिरिया गरिसकेका छोराको शव नेपाल ल्याउने प्रक्रियाका लागि त्यसपछि वीरबहादुर पछिल्ला ६ महिनामा तीन पटक काठमाडौं धाए । परराष्ट्र मन्त्रालयदेखि, कन्सुलर शाखा, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डदेखि गृह मन्त्रालयसम्म धाए । उपराष्ट्रपति नन्दबहादुर पुन, अर्थमन्त्री कृष्णबहादुर महरादेखि परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसम्मलाई भेटेर सरकारले नै खर्च बेहोर्ने गरी शव ल्याउने प्रक्रिया सुरु भएको थियो । मन्त्रिपरिषदले शव ल्याउने खर्च बेहोर्ने निर्णय भएको झन्डै तीन महिनापछि हर्षको शव आइपुगेको हो ।

विमानस्थलमा भेटिएका वीरबहादुरले भने, ‘दु:खी भनौं भने महिनौंको दौडधुपपछि छोराको शव आएको छ । खुसी भनौं भने, शव छोराको देख्दा केको खुसी लाग्छ र ?’

कक्षा आठ पास गरेपछि झन्डै डेढ वर्ष माओवादी पार्टीमा प्रवेश गरी सशस्त्र द्वन्द्वमा लागेका हर्षमानपछि वैदेशिक रोजगारीमा साउदी अरब गएका थिए । छोरा माओवादी कार्यकर्ता रहेकाले गर्दा माओवादी सरकारले उनको शव छिटो ल्याउन पहल गरिदिन्छ भन्ने आस वीरबहादुरको थियो ।

दुर्घटनाको चार वर्षपछि मात्रै गत वैशाखमा रियादस्थित नेपाली दूतावासले ठेगाना प्रस्ट नभएको भनिएको शव हर्षमानकै रहेको पत्तो पाएको थियो । उनको शव डेनिस खत्रीको नाममा दर्ता गरिएका कारण शवको पहिचान खुलेपछि पनि नेपाल पठाउन समस्या परेको थियो । फरक नाममा रहेको शव हर्षकै हो भनेर प्रमाणित गर्न दूतावासलाई लामो समय लागेको थियो ।

छिमेकी कमलसिंह खत्री र टंक पोख्रेलको साथ लागेर काठमाडौं आएका वीरबहादुरले भने, ‘यस्तो सास्ती कसैले नखेपोस् ।’ छिमेकी टंकका अनुसार छोराको शव आएको खबर थाहा पाएदेखि नै घरमा गाउँलेहरूको भीड लागेको छ । छोराको मृत्युलगत्तै महिनौं शोकमा डुबेको परिवार शव फेला नपर्ने निश्चयमा पुगेपछि कुशको शव बनाएर किरिया गर्ने बेलामा दोस्रो पटक शोकमा डुबेको थियो । टंकले भने, ‘एउटै मृत्युमा परिवारका सदस्यले तेस्रो पटक शोक भोग्नुपर्‍यो ।’

२०६८ मा साउदी अरब पुगेका हर्ष २२ महिनापछि सडक दुर्घटनामा परेका थिए । त्यतिबेला बाबु वीरबहादुर पनि साउदीमै थिए । छोराको मृत्युको खबर थाहा पाएपछि उनले महिनौं शवको खोजी गरेका थिए । तर, पत्ता नलागेपछि नेपाल फर्केका थिए । कुशको शव बनाएर पहिले नै तेह्र दिन किरिया गरेकाले पण्डितले पाँच दिनमै किरिया उम्काउने भनेको उनले बताए ।

हर्षमानलाई दलाल हिरालाल ओली र उमेश आचार्यले भारतको बाटो हुँदै गैरकानुनी रूपमा साउदी पुर्‍याएका थिए । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेका अनुसार कानुनसम्मत हिसाबले साउदी गएको भए र करार अवधिभित्रै मृत्यु भएको भए खत्रीले सरकारबाट आर्थिक सहायता पाउने थिए । वीरबहादुरका कान्छा छोरा पनि दुबईमा कार्यरत छन् ।
इकान्तिपुर बाट साभार

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger