Latest Updates :

साउदी अरबमा १० नेपाली कामदार अलपत्र, मेनपावरले ५–५ हजार रियालमा बेचेको पीडितको दाबी भिडियो सहित

SHARE THIS POST :
साउदी अरबमा १० नेपाली कामदार अलपत्र, मेनपावरले ५–५ हजार रियालमा बेचेको पीडितको दाबी भिडियो सहित
मेनपावर भन्छ पीडितका कुरा सबै झुटा
काठमाडौं, ३ कात्तिक । धन कमाउने सुन्दर सपना बोकेर साउदी अरब पुगेका दश नेपाली युवा अलपत्र परेका छन् । काठमाडौं गौशालामा रहेको सहारा मेनपावरबाट साउदीका नासोर सलेह अल नायमि इस्ट कम्पनीमा पुगेका ति युवालाई नेपालबाट साउदी पठाउने मेनपावरका सञ्चालक लोकेन्द्र ओली र टंकप्रसाद जोशी (सुनिल) हुन् । हाल उनीहरु कम्पनीको कार्यस्थल हफुफ देखि ९० किलोमिटर भित्र रहेको पुरानो रियाद रोडमा रहेको पनि पीडितले बताए । सरकारले फ्रि भिसा–फ्रि टिकट भनेपनि प्रतिव्यक्ति १ लाख १० हजार रुपैयाँ मेनपावरलाई बुझाएर साउदी पुगेका ती युवाले साउदी पुगेको ३ महिना भएको र ३ महिना काम गरेपनि अहिलेसम्म तलब पाएका छैनन ।


‘साउदी पठाउँदा ट्रान्सपोर्ट लाइनको काम भनेपनि अहिले हामीलाई ढुंगा पेल्ने थ्रेसर मेसिनको काम लगाइएको छ र काम गरेको तलब पनि दिइएको छैन । सबै साथीहरु मर्ने कि बाँच्ने भन्ने अवस्थामा छौं,’ अलपत्र मध्येका एक झापाका लाल बहादुर श्रेष्ठले बताए । आफूहरुले काम गरेपनि तलब नपाएको तथा भनेको काम पनि नभएकाले नेपाल फर्काउन मेनपावरसँग कुरा गर्दा मेनपावर सञ्चालकले ‘तिमिहरुलाई ससुराली पठाएको हैन, खुरुखुरु काम गर, म जेसुकै भएपनि नेपाल फर्काउन सक्दिन’ भनेर धम्क्याएको पनि श्रेष्ठले बताए ।
साउदीमा अलपत्र परेका कामदारहरु लालबहादुर श्रेष्ठ, झापा श्याम बहादुर पाख्रिन, मकवानपुर बिमल हुँमागाई, मकवानपुर राजन खड्का, इटहरी प्रकाश अधिकारी, स्याङ्जा गोपाल बुढाथोकी, सल्यान खिमराज खत्री, सल्यान मौसमकुमार तिवारी, मोरङ हर्कबहादुर तिरुवा, कैलाली लाभजीवन चौधरी, सप्तरी लाइटनेपालसँग फोनमा कुरा गर्दै श्रेष्ठले तलब नपाउँदा खाना खान तथा परिवरसँग फोन सम्पर्कसमेत गर्न नपाउने अवस्था आएको र अहिले केही सहयोगीले सहयोग गरिरहेकोले खान जेनतेन पेट भरिरहेको बताए । तलब नपाए पनि काम गरिरहेका उनीहरुले काम छाडे कम्पनीको साहुले जे सुकै पनि गर्न सकने भएकाले अहिले पनि काम भने गरिरहेको श्रेष्ठले बताए ।

सोही मेनपावरबाट गएका र अहिले अलपत्र परेका स्याङ्जाका प्रकाश अधिकारीले मेनपावरले भनेको भन्दा उल्टो काम, आधा पनि तलब नदिने तथा अहिले साहुले खानका लागि महिनाको १०० रियाल मात्र दिने र ४ महिना पछि मात्र तलब दिने भनेको बताए । ‘खाना खान नै महिनाको ३ सय रियाल लाग्छ यहाँ, १ सयले कसरी पुर्याउनु ? अझ तलब ४ महिनापछि भन्छ, पैसा कमाउन आको यहाँ ज्यानको त जोखिम भयो नै खान नपाएर मर्ने अवस्था समेत आयो’, अधिकारीले भने । अधिकारीले आफुहरुलाई जसरी पनि उद्दार गरि नेपाल फर्काइदिन अनुरोध गरे ।
पीडितका अनुसार उनीहरु १० जनामध्ये पहिले ७ जना त्यहाँ पुगेका थिए । उनीहरुले त्यहाँ भने अनुसारको काम नभएको र ज्यानकै जोखिम भएकाले काम नगर्ने भनेपनि मेनपावर सञ्चालक टंकप्रसाद जोशी (सुनिल) र साउदी अरेबियास्थित नेपाली दूतावासका प्रतिनिधी हरि घिमिरे नेपाली काम गर्ने स्थलमा पुगेर कम्पनीको मालिक समेत राखेर हरेक महिना तलब दिने तथा अन्य सुविधा दिने भनेपछि उनीहरु काम गर्न राजी भएका थिए । पछि सो मेनपावरबाट अन्य ३ जना पनि सोही स्थानमा काम गर्न पुगेका थिए । ‘पछि मात्र हामीलाई थाहा भयो, हामीलाई त मेनपावरले एउटा कम्पनी भनेर अर्कै कम्पनीको साहुलाई ५–५ हजार रियालमा बेचेको रहिछ, काम नगरे पनि ज्यानकै खतरा छ’, एक पीडितले बताए ।
पीडितहरुले नेपाल फर्काउन पहल गरिदिन नेपाली दूतावासमा खबर गरेपनि त्यहाँबाट समेत उपयुक्त पहल नभएको र आफुहरु उद्दारको पहलका लागि बाहिर निस्कन सक्ने अवस्था पनि नरहेको बताएका छन् । नेपालमा रहेका पीडीतका आफन्तहरुले नेपालस्थित मेनपावरमा पुगेर आफ्ना आफन्तलाई फिर्ता गर्न दबाब दिंदा चाँडै फिर्ता गरिदिन्छौं भनेपनि मेनपावरले साउदीमा भने पीडितहरुलाई खुरुखुरु जसरी पनि काम गर्न चेतावनी दिदैं आएको पीडितहरु बताउँछन् ।
मेनपावर यसो भन्छ
यता मेनपावरले भने पीडितहरुको दाबीलाई पुरै अस्वीकार गरेको छ । लाइटनेपालसँग कुरा गर्दै मेनपावर सञ्चालक टंकप्रसाद जोशी (सुनिल)ले केही कामदारले काम नगरी आन्दोलन तथा नियमविपरित काम गरेकाले समस्या आएको बताए । ‘यसबारेमा म आफैं र दुतावासका प्रतिनिधी हरि घिमिरे कम्पनीमै पुगेर सबै कुरा छलफल गरी मिलाएको हो ।

पछि फेरि यहाँबाट पछि गएका कामदारले बखेडा झिकेका हुन’, जोशीले भने । जोशीले अहिले अलपत्र भनिएका कामदार फर्काउन मेनपावरले लाग्ने रकम दुतावासमा पठाइसकेको र तिहार अगाडि नै उनीहरु नेपाल फर्किने पनि बताए । ‘ कामदारले दाबी गरेजस्तो फरक काम परेको तथा कम तलब र धेरै रकम बुझाएको भन्ने सबै कुरा झुटा हुन् । यसमा मेनपावरको केही दोष छैन,’ उनले भने । उनले काम गर्न नचाहने कामदारलाई फर्काइने र त्यसमा कुनै समस्या नरहेको पनि बताए ।

पीडितका आफन्त भन्छन
यता पीडितका आफन्तले भने मेनपावरले फिर्ता गर्छु भनेर धेरैपटक झक्याएको बताउँछन् । पीडित भनिएका मौसम तिवारीका दाई भोला निरौला तथा बिमल हुँमागाईकी आमाले मेनपावरले २ महिनायता धेरैपटक झुक्याएको बताए । ‘मेनपावरले अब तपाईका आफन्त हामी फिर्ता गर्छौ भन्छ, उता हाम्रा भाइछोरालाई कुटपिट, यातना तथा विभिन्न धम्की दिने काम भएको छ । यसले गर्दा हामी केही महिनायता निदाउन पनि सकेका छैनौ,’ हुँमागाईकी आमाले भनिन । उनले अरु जेसुकै भएपनि पीडितहरुलाई नेपाल फर्काउन मेनपावर, सरकार, दूतावास र सम्बन्धित सबैमा पहलका लागि अनुरोध समेत गरेकी छन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger